काठमाडौं महानगरका पूर्व इन्जिनियरको साढे ४ करोड सम्पत्ति अवैध ठहर, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २६ जेठ । काठमाडौं महानगरपालिकाका एक पूर्व इन्जिनियरले गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

महानगरका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध रु. ४ करोड ५८ लाखभन्दा बढीको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, इन्जिनियर कोइरीले आफ्नो पदीय मर्यादाविपरीत काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान थालिएको थियो। कोइरीले महानगरमा कार्यरत रहँदा (२०४६ वैशाखदेखि २०७८ फागुनसम्म) गरेको आय-व्ययको विश्लेषण गर्दा उनको जीवनस्तर र सम्पत्ति आयभन्दा अस्वाभाविक रूपमा उच्च देखिएको अख्तियारको दाबी छ।

अनुसन्धानका क्रममा इन्जिनियर कोइरीको कुल खर्च तथा लगानी रु. ७ करोड ९६ लाख ७६ हजार ८०४ देखिएको थियो। तर, सोही अवधिमा उनको वैध आयको स्रोत भने जम्मा रु. ३ करोड ३७ लाख ७९ हजार ४०० मात्र पुष्टि भयो। यसअनुसार बाँकी रु. ४ करोड ५८ लाख ९७ हजार ४०३ को स्रोत देखाउन नसकेपछि अख्तियारले सोही रकमलाई बिगो कायम गरेको हाे।