वैशाखमा रेमिट्यान्सको कीर्तिमान, एकै महिनामा १ खर्ब ६५ अर्ब भित्रियो

काठमाडौं, २७ जेठ । नेपालमा भित्रिने विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो, जुन एकै महिनामा प्राप्त भएको हालसम्मकै उच्च रकम हो।

यससँगै चालु आर्थिक वर्षको पहिलो १० महिना (साउनदेखि वैशाखसम्म) मा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो। यद्यपि, गत वर्षको सोही अवधिमा वृद्धिदर १६.९ प्रतिशत रहेको थियो।

अमेरिकी डलरमा हेर्दा पनि १० महिनाको अवधिमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *