अनेरास्ववियुको नेतृत्व छान्न भोलि निर्वाचन, यस्ताे छ तालिका

काठमाडौं, २७ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ।

नेतृत्वमा सर्वसम्मत सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

यसअघि, बन्दसत्रमा अध्यक्ष मण्डलले डा. सुजन कडरियालाई अध्यक्ष बनाउने गरी पदाधिकारीको नाम प्रस्ताव गरेको थियो। तर, अध्यक्षका अन्य आकांक्षी प्रकाश पौडेल र दीपक धामी पक्षले उक्त प्रस्तावमा असहमति जनाउँदै निर्वाचनको माग गरेपछि सहमति जुट्न सकेन।

आकांक्षीहरूको अडानपछि निर्वाचन समितिले मंगलबार साँझसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।