तीनकुने राजावादी घटना : दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ प्रतिवादी धरौटीमा रिहा
काठमाडौं, ३० जेठ । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ भने ३२ प्रतिवादी धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो ।
त्यस्तै, अन्य ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जनाएकाे छ ।
प्रसाईंलाई भने आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । हिजाे राती अबेर उक्त बहस सकिएको हो ।
तीनकुने घटनामा प्रतिवादीमध्ये ३९ जना प्रतिवादी हिरासतमा थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुरस्थित पठाइएको थियो ।
उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको थियाे ।
११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।