इरानमाथिको इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन : साउदी अरेबिया

काठमाडौं, ३० जेठ । साउदी अरेबियाले इरानमाथि भएको इजरायली आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । रियादले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन र इरानको सार्वभौमिकतामाथिको प्रहार भनेको छ ।

साउदी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “साउदी अरब अधिराज्य भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध भएको इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना गर्दछ । यो आक्रमणले इरानको सार्वभौमिकता र सुरक्षालाई कमजोर बनाउँदै अन्तर्राष्ट्रिय कानून तथा मान्यताहरूको स्पष्ट उल्लङ्घन गरेको छ ।”

विज्ञप्तिमा आक्रमणलाई ‘जघन्य’ भन्दै यसलाई तुरुन्त रोक्नका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले जिम्मेवारी लिनुपर्नेमा जोड दिइएको छ ।
उल्लेखनीय छ, लामो समयदेखि एकअर्काका प्रतिद्वन्द्वी रहेका साउदी अरेबिया र इरानबीच गत वर्ष मात्रै चीनको मध्यस्थतामा ऐतिहासिक मेलमिलाप भएको थियो । शुक्रबारको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसले खाडी क्षेत्रमा थप द्वन्द्व फैलिने त्रास बढाएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्धको सैन्य कारबाही ‘आवश्यकएसम्म जारी रहने’ बताउनुभएको छ, जसले गर्दा मध्यपूर्वमा तनाव थप चर्किने देखिएको छ ।