भिजिट भिसा प्रकरण

संसदको गतिरोध अन्त्य गर्न सत्तापक्ष र माओवादी केन्द्रबीच सहमति, रास्वपालाई ठाउँ खाली

काठमाडौं, ३० जेठ । भिजिट भिसा प्रकरणलाई लिएर विगत दुई सातादेखि अवरुद्ध संसद् खुलाउन सत्ता साझेदार दल नेकपा (एमाले), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सघाउने तथा विगतदेखि अध्यागमन प्रणालीमा देखिएका समस्याहरूको पहिचान गरी नीतिगत, कानूनी र संरचनागत सुधारका लागि सरकारलाई सुझाव दिने उल्लेख छ ।

तीन दलको सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने हस्ताक्षर गरेको छैन । सहमतिपत्रमा रास्वपाका लागि हस्ताक्षर गर्ने ठाउँ खाली छाडिएको र उसलाई पनि सहमतिमा ल्याउने प्रयास जारी रहेको बताइएको छ ।

रास्वपाले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसदीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो पुरानो अडान कायमै राखेको छ ।