भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै रास्वपाको अवरोध, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजीसहित अवरोध गरेको छ।

रास्वपाको निरन्तर अवरोधका कारण सोमबारको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिनुभएको थियो।

सांसद कार्कीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर राष्ट्रिय विकृतिमा सरकार मौन बसेको आरोप लगाउँदै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याउनुभयो। उहाँले यो समस्या वि.सं. २०६४ सालदेखि नै जकडिएर बसेको उल्लेख गर्नुभयो।

सांसद कार्कीपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बोल्नुभएको थियो। उहाँले बोलिसकेलगत्तै रास्वपाका सांसदहरूले पुनः नाराबाजी सुरु गरेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *