स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक दुई विकेटको जित
काठमाडौँ, ३ असार । सन्दीप लामिछानेको शानदार बलिङको सहयोगमा नेपालले मङगलबार घरेलु टिम स्कटल्यान्डलाई दुई विकेटले हराएर त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो जित हात पारेको छ । नेपाल आफ्नो पहिलो खेलमा एक दिनअघि नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
स्कटल्यान्डको ग्लास्गोमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने लिएको निर्णय सही सावित भयो । सन्दीपले चार ओभरमा मात्र ११ रन खर्चेर चार विकेट लिएपछि स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमा अलआउट भएको थियो । सन्दीप बलिङमा चम्कनुअघि नै नेपालका अन्य बलरले स्कटल्यान्डको पाँच विकेट ६३ रनमै निकालिसकेका थिए । करण केसी र दिपेन्द्र सिंह ऐरीले दुई–दुई तथा ललित राजवंशीले एक विकेट लिएर सन्दीपलाई उचित साथ दिए । स्कटल्यान्डका लागि मइकल लिस्कले मात्र ४६ बलमा ४४ रन बनाएर उल्लेखलायक ब्याटिङ गरे ।
स्कटल्यान्डले नेपाललाई सामान्य लक्ष्य सहजै पछ्याउन दिएन । नेपालले एक बल बाँकी छँदा मात्र आठ विकेटको क्षतिमा ९८ रन बनाएर लक्ष्य हासिल गर्यो । ब्याटिङ गर्न कठिन पिचमा नेपाली ब्याट्सम्यानहरुले पनि सङ्घर्ष गरे । प्रारम्भिक ब्याट्सम्यान लोकेश बम नौ, अनिल शाह तीन र कप्तान रोहित सात रनमा आउट भए । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ३५ बलमा ३० रन बनाएर लगातार विकेट गएपनि नेपाललाई समस्यामा भने पर्न दिएका थिएनन् ।
भुर्तेल आउट भएपछि भने नेपाल दबाबमा पर्यो । दिपेन्द्र १४, बसिर १३ र रुपेश छ रनमा आउट भएपछि स्कटल्यान्डको पनि जितको सम्भावना देखिएको थियो । आफ्नो दोस्रो टि२० अन्तर्राष्ट्रिय खेल्दै गरेका किरण ठगुन्ना खेल जित्न एक रन बाँकी छँदा छक्का प्रहार गर्ने क्रममा १० रनमा आउट भए। त्यसपछि क्रिजमा आएका सन्दीपले एक रन लिएर नेपाललाई जित दिलाए । करण तीन रनमा अविजित रहे।
स्कटल्यान्डका लागि साप्mयान सरिफ र लिस्कले दुई–दुई तथा ब्रेन्डन म्याकमुलेन, मार्क वाट, ज्याक जार्भिस र जास्पर डेभिडसनले एक–एक विकेट लिए ।
नेपालको जितसँगै तीनै टिमले एक जित र एक हारको नतिजासहित दुई–दुई अङ्क बनाएका छन् ।