सुदूरपश्चिमका सीमा नाकामा कोरोना संक्रमण बढ्दो, पछिल्लो दुई हप्तामा २३ जना संक्रमित
महेन्द्रनगर, ५ असार। भारतबाट नेपाल फर्कनेहरूमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः देखिन थालेपछि सुदूरपश्चिमका सीमा नाकामा जोखिम बढेको छ।
बुधबार भारतको हल्द्वानीबाट गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेका बर्दियाका एक व्यक्तिमा गम्भीर प्रकृतिको संक्रमण पुष्टि भएपछि उनलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
सीमामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका ती बिरामीमा उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो। सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार, बिरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बिरामीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जानकारी दिनुभयो। उहाँले लामो समयपछि अस्पतालमा कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपरेको बताउँदै यसले संक्रमणको जोखिम फेरि बढेको संकेत गरेको उल्लेख गर्नुभयो।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गर्दै आएका छन् । गत जेठ २१ देखि यही असार ४ गतेसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना सङ्क्रमण पुष्टि भएका १६ जना निको भएका छन् । अझै सातजना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।