तनहुँका फाँटमा किसानलाई चैते धान भित्र्याउने चटारो

तनहुँ, ५ असार । मनसुनको सुरुवातसँगै तनहुँका किसानहरूलाई यतिबेला चैते धान काटेर थन्क्याउने चटारो छ। जिल्लाका प्रमुख फाँटहरूमा पहेँलपुर भएर झुलेका धानका बाला काट्ने र लगत्तै वर्षे धान (असारे धान) रोप्ने तयारीले किसानहरूलाई भ्याइनभ्याइ भएको हो।

जिल्लाका व्यास, भानु, म्याग्दे र आँबुखैरेनी जस्ता पालिकाका अधिकांश सिञ्चित फाँटहरूमा चैते धानको खेती गरिन्छ। कृषि ज्ञान केन्द्र, तनहुँका अनुसार जिल्लामा चैते धानखेतीको अवस्था उत्साहजनक छ।

चैते धान: उत्पादन र क्षेत्रफल
केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार जिल्लाको कुल धानखेती क्षेत्रफलमध्ये करिब १९ प्रतिशतमा चैते धान लगाइन्छ। गत आर्थिक वर्षको तथ्याङ्कअनुसार: कुल धानखेती क्षेत्रफल: ९,४६४ हेक्टर छ । चैते धानखेती क्षेत्रफल: १,८०२ हेक्टर छ ।
गत वर्षको कुल धान उत्पादन: ३७,९४२ मेट्रिकटन रहेकाे छ भने गत वर्ष चैते धानको उत्पादन: ८,७०४ मेट्रिकटन रहेकाे छ ।

“सिँचाइ सुविधा विस्तार र सरकारको ‘चैते धान प्रवद्र्धन कार्यक्रम’ले किसानहरू यसतर्फ आकर्षित भएका हुन्,” परियारले भन्नुभयो, “चैते धान थन्क्याउने बित्तिकै वर्षे धान रोप्नुपर्ने भएकाले किसानहरू व्यस्त छन्। चालु वर्षको उत्पादन तथ्याङ्क आउन बाँकी छ, तर सिँचाइ विस्तारले उत्पादन बढ्ने अपेक्षा छ।”

जिल्लाका भानुको चुँदीफाँट, व्यासको कलेस्तीफाँट, म्याग्देको गुणादीफाँट र शुक्लागण्डकीको ढोरफिर्दीफाँट जस्ता उर्वर भूमिमा धानखेती फस्टाएको छ। विशेषगरी यहाँ उत्पादित चैते धान चिउरा बनाउनका लागि उत्तम मानिन्छ।