आलमलाई सफाइ दिने न्यायाधीशहरू न्याय परिषदको छानबिनमा
काठमाडौं। कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने निर्णयका कारण विवादमा रहेका दुई न्यायाधीशलाई न्याय परिषदले छानबिनका लागि कार्यक्षेत्रबाट तानेको छ।
उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनलाई न्याय परिषदको बिहीवारको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरेर कार्यक्षेत्रबाट तानेको एक परिषद् सदस्यले जानकारी दिए।
आलमविरुद्ध जिल्ला अदालतले जिउँदै इटा भट्टामा जलाएर मान्छे मारेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले उनलाई सफाइ दिएपछि देशभर बहस सुरु भएको थियो।
यस विषयमा न्यायाधीशहरूविरुद्ध मृतक पिन्टु त्रिलोकका बुबाले समेत न्याय परिषदमा उजुरी दर्ता गराएका थिए।
यसअघि बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखेकी थिइन्। तर प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र कानून मन्त्री अजय चौरसियाले त्यस प्रस्तावलाई स्वीकार गरेका थिएनन्।
यसैबीचमा न्यायाधीश थारुमाथि दुर्व्यवहार समेत भएको थियो।
न्याय परिषदले अब एक सदस्यीय छानबिन समिति गठन गरेर दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट तानेको छ। यो निर्णयले न्यायपालिकामा भएको विवादलाई समाधानका लागि महत्वपूर्ण कदम मानिएको छ।