आज चार संसदीय समितिको बैठक बस्दै, मनसुनदेखि न्यायाधीश नियुक्तिसम्मका विषयमा छलफल

काठमाडौँ , १२ असार। सङ्घीय संसदअन्तर्गत आज चारवटा महत्वपूर्ण संसदीय समितिको बैठक बस्दैछ।

बैठकहरूमा मनसुनजन्य विपद्, विद्यालय शिक्षा विधेयक, भन्सार विधेयक र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रियाजस्ता विषयमा छलफल हुनेछ।

आज बस्ने बैठक र तिनका कार्यसूचीहरू यसप्रकार छन्:
विधायन व्यवस्थापन समिति (बिहान ९ बजे): समितिको बैठकमा ‘भन्सार विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

संसदीय सुनुवाइ समिति (बिहान ११ बजे): संयुक्त समितिको यस बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरीहरू खोलिनेछ र समितिका सदस्यहरूलाई आगामी कार्ययोजना वितरण गरिनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति (बिहान साढे ११ बजे): मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने विषयमा गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सुरक्षा निकायका प्रमुखहरू र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति (दिउँसो १ बजे): बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।