एमालेमा नेतृत्व बहस तत्काल रोक्न महासचिव पोखरेलको निर्देशन, भने– ‘अहिले नीति र विधिमा केन्द्रित बनौं’

काठमाडौँ, १८ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र सुरु भएको नेतृत्वसम्बन्धी बहसलाई तत्काल रोक्न निर्देशन दिनुभएको छ।
पार्टीको महाधिवेशनको मिति टुंगो नलागेको अवस्थामा नेतृत्वको दौडमा लाग्नुभन्दा नीति र विधि निर्माणमा केन्द्रित हुन उहाँले पार्टी पंक्तिलाई आग्रह गर्नुभएको हो।
मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त निर्देशन दिनुभएको हो। “महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ,” उहाँको भनाइ थियो।
एमालेले निकट भविष्यमा विधान महाधिवेशन र त्यसपछि राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको छ। तर, विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदनका मस्यौदाहरू समेत तयार भइनसकेको अवस्थामा नेतृत्वको बहस गर्नु अपरिपक्व हुने पोखरेलको भनाइ थियो।
उहाँले विधान संशोधनको प्रस्ताव पहिला केन्द्रीय कमिटीमा छलफल हुने र त्यसपछि मात्रै सुझावका लागि मातहतका कमिटीहरूमा पठाइने प्रक्रियाबारे जानकारी गराउनुभयो। यो निर्देशनले पार्टीको आन्तरिक ध्यानलाई महाधिवेशनका लागि आवश्यक नीतिगत र वैचारिक तयारीमा केन्द्रित गर्ने उद्देश्य राखेको देखिन्छ।