काल्पनिक विद्यालय खडा गरी डोल्पामा ७ लाख भ्रष्टाचार, तत्कालीन इन्जिनियरसहित चारजनाविरुद्ध मुद्दा दायर
काठमाडौं, १९ असार । डोल्पामा अस्तित्वमा नै नभएको विद्यालयको नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुखसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ठूलीभेरी नगरपालिका-४, तिप्लामा ‘दुर्गा प्राथमिक विद्यालय’ नामक काल्पनिक विद्यालय खडा गरी भवन निर्माणको नाममा ७ लाख ६० हजार रुपैयाँ हिनामिना भएको हो।
अख्तियारको अनुसन्धानअनुसार, आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट दुईकोठे भवन निर्माणका लागि उक्त रकम विनियोजन भएको थियो। तर, स्थलगत अनुसन्धान र शिक्षा कार्यालयको प्रतिवेदनले सो स्थानमा दुर्गा प्रावि नामक कुनै विद्यालय कहिल्यै सञ्चालनमा नरहेको र त्यहाँ श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको पुष्टि गरेको छ।
आयोगले यस घटनालाई ‘पूर्व-नियोजित षड्यन्त्र र अहंकारपूर्ण भ्रष्टाचार’ भन्दै जिल्ला प्राविधिक कार्यालय, डोल्पाका तत्कालीन प्रमुख (इन्जिनियर) रविचन्द्र परियार, तत्कालीन लेखापाल मनिराम कुर्मी, नक्कली उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, चारैजनाको मिलेमतोमा नक्कली कागजात र झुट्टा उपभोक्ता समिति बनाएर रकम निकासा गरी भ्रष्टाचार गरिएको थियो। उनीहरूमाथि विद्यालय नै नभएको ठाउँमा भएजस्तो देखाई सरकारी सम्पत्ति हानि-नोक्सानी गरेको अभियोग लगाइएको छ।