काभ्रेमा मनसुनको उच्च जोखिम: ६ हजारभन्दा बढी घरपरिवार जोखिममा, ३९५ बस्ती पहिचान
काभ्रेपलाञ्चोक, २३ असार । यस वर्षको मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकका ६ हजार ३ सयभन्दा बढी घरपरिवार उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले १३ वटै स्थानीय तहबाट प्राप्त प्रतिवेदनका आधारमा ३९५ बस्तीलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेको हो।
समितिका अनुसार, यी बस्तीमा बसोबास गर्ने करिब २३ हजार ४५ नागरिक बाढीपहिरो जस्ता विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले विशेषगरी रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला र दाप्चाखोला लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक बढी जोखिममा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन हामीले निरन्तर आग्रह गरिरहेका छौँ।”
सबैभन्दा बढी: रोशी गाउँपालिकामा ५६ बस्तीका १,४३८ घरपरिवार उच्च जोखिममा छन्।
सबैभन्दा कम: खानीखोला गाउँपालिकामा ९ बस्तीका ४७ परिवार जोखिममा छन्।
अन्य प्रमुख क्षेत्र: नमोबुद्ध नगरपालिकामा १,१४२, बनेपामा ८११ र पाँचखालमा ८६९ घरपरिवार प्रभावित हुनसक्ने आँकलन छ। जिल्लाको सदरमुकाम धुलिखेलका २५ बस्तीका ५२१ परिवार पनि जोखिम सूचीमा छन्।
गत साल असोजमा आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा मात्रै ७८ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए। उक्त विपद्मा देशभर मृत्यु भएकामध्ये ३१ प्रतिशतभन्दा बढी काभ्रेकै थिए, जसले जिल्लाको भौगोलिक जोखिमलाई स्पष्ट पार्छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारीलाई तीव्र बनाएको छ। उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा राखिएको छ। साथै, जिल्लाका १३५ वटै वडामा वा नजिकको क्षेत्रलाई समेटेर हेलिप्याड तयार पारिएको र विद्यालय तथा सामुदायिक भवनहरूलाई आश्रय स्थलका रूपमा व्यवस्थापन गरिएको समितिले जनाएको छ।