भाेटेकाेशी बाढी : २०० मेगावाट विद्युत् उत्पादन ठप्प, रसुवागढी र त्रिशूली थ्री ‘ए’ मा ठूलो क्षति
रसुवा, २४ असार । चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीले रसुवास्थित प्रमुख जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुर्याएको छ। यसका कारण २०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। विशेषगरी रसुवागढी र त्रिशूली थ्री ‘ए’ आयोजना तत्काल सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगेका छन्।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनका अनुसार बाढीले १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशूली थ्री–ए, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट आयोजनाको उत्पादन ठप्प भएको छ। उहाँका अनुसार रसुवागढी र त्रिशूली थ्री–ए मा ठूलो क्षति भएकाले तत्काल सञ्चालन गर्न असम्भव छ।
सीईओ महर्जनले भन्नुभयो, “पावरको हिसाबले २०० मेगावाट ठूलो नदेखिए पनि बाढीले रसुवागढी आयोजनाको बाहिरी संरचना पूर्णरूपमा ध्वस्त बनाएको छ। भोटेकोसी र त्रिशूली करिडोरका आयोजनाहरूबाट तत्काल विद्युत् उत्पादन सम्भव छैन।”
यद्यपि, वर्षायाम भएकाले देशभरका अधिकांश आयोजनाहरू पूर्ण क्षमतामा चलिरहेका छन्, जसले गर्दा तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा ठूलो असर नपर्ने महर्जनको भनाइ छ। तर, बाढी प्रभावित आयोजनाहरूको पुनर्निर्माण र विद्युत् आपूर्ति सुचारु गर्न ठूलो लगानी र समय लाग्ने देखिएको छ।
