सर्वोच्च अदालतका तीन न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २४ असार। सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा उहाँहरूलाई शपथ गराउनुभएको हो।

न्याय परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई सोमबार न्यायाधीशमा नियुक्त गर्नुभएको थियो। शपथलगत्तै तीनै जना न्यायाधीशले आजैदेखि आफ्नो कार्यभार सम्हाल्नुभएको छ।

सोही समारोहमा प्रधानन्यायाधीश राउतले न्याय परिषद्का नवनियुक्त सदस्य महेशकुमार नेपाललाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। परिषद्को अध्यक्षको हैसियतमा प्रधानन्यायाधीशले सदस्यलाई शपथ गराउने प्रावधान छ।