उपल्लो मुस्ताङमा भीषण बाढी: चार वटा पुल बगायो, दुईमा क्षति
मुस्ताङ, २५ असार । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा मङ्गलबार साँझ आएको भीषण बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार चीनसँगको उत्तरी सिमानामा पर्ने छोसेरस्थित चुम्जुङ खोलामा आएको लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको हो, जसमध्ये चारवटा पूर्ण रूपमा बगेका छन्।
प्रहरीका अनुसार बाढीले लोमान्थाङ-४ को चुम्जुङ खोलामा रहेको एक पक्की मोटरेबल पुल र लोमान्थाङ-२, साम्जुङमा निर्माणाधीन अर्को मोटरेबल पुलमा क्षति पुगेको छ। यसका साथै, सोही क्षेत्रमा रहेको एउटा फलामे पुल र तीनवटा काठेपुल बाढीले बगाएर लगेको छ।
बाढीबाट कुनै पनि मानवीय वा पशुचौपायाको क्षति भने नभएको मुस्ताङका प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले जानकारी दिनुभयो। उहाँका अनुसार, जोखिममा रहेको खोला किनारको एक होटल र न्याम्डो गाउँका दुई घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
बाढीको खबरलगत्तै सम्भावित जोखिम न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय, छोसेर र सशस्त्र प्रहरी बल (बीओपी), नेचुङबाट प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलमा खटिएको डीएसपी लामाले बताउनुभयो।
हाल बाढीको बहाव केही घटे पनि खतरा पूर्ण रूपमा टरेको छैन। सुरक्षाकर्मीको टोलीले स्थानीयलाई सतर्क रहन सूचित गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, मुस्ताङले पनि नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।