रसुवाकाे भाेटेकाेसी बाढी: १९ बेपत्ताको खोजी त्रिशूलीदेखि नारायणीसम्म, मृतकको सनाखतमा कठिनाइ

काठमाडौँ, २५ असार। रसुवामा मङ्गलबार आएको विनाशकारी भाेटेकाेसी बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी कार्य बुधबार बिहानैदेखि तीव्र पारिएको छ।
नेपाल प्रहरीले बाढीको बहावसँगै मानिसहरूलाई तल्लो तटीय क्षेत्रसम्म बगाएको आशङ्कामा खोजीको दायरा फराकिलो बनाएको हाे।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जयसिंह थापाका अनुसार, रसुवाबाट बगाएका एक प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा भेटिएपछि खोजी कार्यलाई रसुवा, नुवाकोट, धादिङ हुँदै चितवन र नवलपरासीको नारायणी नदी किनारसम्म विस्तार गरिएको छ।
हालसम्म बाढीमा परी मृत्यु भएका ९ जनामध्ये ५ जनाको मात्र सनाखत हुन सक्ने अवस्थामा शव फेला परेको छ। अन्य चार जनाको भने मानव अङ्ग मात्र भेटिएकाले पहिचानका लागि डीएनए परीक्षण आवश्यक पर्ने प्रहरीले जनाएको छ। एसएसपी थापाका अनुसार अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ सर्वसाधारण गरी १९ जना बेपत्ता छन्।
बाढीले भौतिक संरचनामा पनि ठूलो क्षति पुऱ्याएको छ। प्रारम्भिक विवरणअनुसार ६४ वटा सवारीसाधन र मितेरी पुल बगाएको छ। बाढीको यकिन कारण खुल्न सकेको छैन। मौसमविद्हरूले भारी वर्षा नभएकाले माथिल्लो हिमाली क्षेत्रमा हिम पोखरी फुटेर बाढी आएको हुनसक्ने आशङ्का गरेका छन् र यस विषयमा विस्तृत अध्ययन भइरहेको छ।