मेयर बालेनलाई धक्का: भ्यूटावर निर्माणको रोक फुकुवा गर्न उच्च अदालतको आदेश

काठमाडौँ, २५ असार । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको एक निर्णयलाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ।

मेयर शाहको निर्देशनमा रोकिएको काठमाडौँ भ्यूटावरको निर्माण कार्यलाई तत्काल अघि बढाउन दिन अदालतले अन्तरिम आदेश जारी गरेको हो।

यो आदेशले मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीच चुलिएको विवादलाई नयाँ मोड दिएको छ। मेयर शाहले भ्यूटावरको नक्सा पासमा अनियमितता भएको भन्दै गुरागाईँलाई कार्यालयबाटै रोकेका थिए। तर, अब अदालतले सोही नक्सा पासलाई आधार मान्दै निर्माण कार्य नरोक्न भनेको छ।

मेयर बालेनका कारण महानगरको बजेट समेत रोकिएको अवस्थामा अदालतको यो फैसलालाई अर्थपूर्ण रूपमा हेरिएको छ। निर्माण कम्पनीले मेयरको निर्णयविरुद्ध अदालत पुगेकाे थियो ।