किराना पसलबाट अर्बौंको क्रिप्टो कारोबार, दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, २६ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्बौं रुपैयाँको क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ।

ब्यूरोले ललितपुरको सानेपामा किराना पसल सञ्चालन गर्दै आएका रूपेशकुमार गुप्ता र उनका सहयोगी विपिन कुमारलाई पक्राउ गरेको हो।

उनीहरूले किराना पसलको आवरणमा क्रिप्टो तथा हुण्डीको अवैध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार उनीहरूबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार देखिएको छ। ब्यूरोका एसएसपी होबिन्द्र बोगटीले उनीहरूको साथबाट ५ वटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ र संरक्षित वन्यजन्तु कस्तुरीको विना समेत बरामद गरिएको जानकारी दिनुभयो।

पक्राउ परेकाहरूमाथि अभौतिक मुद्रा, हुण्डी र वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। बरामद मोबाइलको प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकसँग समेत सम्पर्क देखिएकाले सोही कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *