म्याग्दी पहिरोमा बाबु-छोराकै मृत्यु, बेपत्ता बालकको शव फेला
म्याग्दी, २६ असार । म्याग्दीको मालिका गाउँपालिका–३, लुम्पीपारमा बुधबार पहिरोमा परी बेपत्ता भएका बालकको शव फेला परेको छ । यो सँगै उक्त पहिरोमा मृत्यु हुनेको संख्या दुई पुगेको छ, जसमा बाबु-छोरा परेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार, घाँस काट्न गएका बेला पहिरोमा परेका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको संयुक्त प्रयासमा उनको शव पहिरोबाट निकालिएको हो ।
यसअघि सरोजका ३५ वर्षीय बुवा जगेन्द्र विकको पनि सोही पहिरोमा पुरिएर मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, घर नजिकैको पाखोबारीमा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले बाबु-छोरा दुवैलाई पुरेको थियो ।