संरक्षक नै भक्षक: मकवानपुरको बालगृहका प्रमुखद्वारा आश्रित किशोरी बलात्कृत
मकवानपुर, २९ असार। मकवानपुरको एक बालगृहमा संरक्षणका लागि आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि सोही बालगृहका प्रमुखले पटक–पटक बलात्कार गरेको कहालीलाग्दो घटना बाहिरिएको छ।
कैलाश गाउँपालिका–३ मा सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका प्रमुख अधिकृत ४८ वर्षीय मधुसूदन राउतलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, घटनापछि फरार रहेका राउतलाई काठमाडौँको काँडाघारी क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको हो। उनलाई शनिबार मकवानपुर ल्याइएको र आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाइने डीएसपी अर्यालले जानकारी दिनुभयो।
पीडित किशोरीले दिएको जाहेरीअनुसार, उनलाई गत जेठ १ गतेदेखि ८ गतेसम्मको अवधिमा राउतले पटक–पटक जबरजस्ती करणी गरेका थिए। बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि ४ वर्षदेखि सोही बालगृहमा बस्दै आएकी किशोरीले हिम्मत जुटाएर असार ८ गते जिल्ला प्रहरी कार्यालयमा राउतविरुद्ध जाहेरी दिएकी थिइन्।
आर्थिक अवस्था कमजोर भएकै कारण मामाघरकी हजुरआमाले उनलाई संरक्षणको उद्देश्यले उक्त बालगृहमा राखेकी थिइन्।
यो घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षा र सञ्चालन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। बालगृहमा हाल १५ जना बालिकाहरू आश्रित छन्।