सुनसरीमा गोली हानी किशोरीको हत्या

विराटनगर, ३० असार। सुनसरीको हरिनगर गाउँपालिकामा एक किशोरीको गोली हानी हत्या गरिएको छ। हरिनगर-६, घुस्कीकी १८ वर्षीया अर्सी खातुनको आइतबार राति करिब १ बजे हत्या भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्यामा खातुनकै भिनाजु संलग्न रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले भारतको घुर्ना निवासी २९ वर्षीय आजात मिया जटले गोली प्रहार गरेको जानकारी दिनुभयो।

एसपी तिम्सिनाका अनुसार, अभियुक्त मियाले खातुनको टाउकोमा गोली प्रहार गरेका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटनास्थलबाट गोलीको एउटा खोका बरामद गरेको छ।

घटनालगत्तै अभियुक्त मिया फरार भएका छन् र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको छ।

घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्ने भएकाले अभियुक्त भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ।