वनफूलले रङ्गिएको ढोरपाटन: पर्यटकको ओइरोसँगै संरक्षणको चिन्ता

बागलुङ, ३० असार । यतिबेला ढोरपाटन उपत्यका राता, पहेँला, बैजनी र गुलावी रङ्गका वनफूलले ढकमक्क ढाकिएको छ । हरियो घाँसे मैदानमा फैलिएको रङ्गीन फूलहरूको मनमोहक दृश्यले आन्तरिक पर्यटकहरूलाई ह्वात्तै तानेको छ, जसकारण यहाँ दैनिक सयौँको सङ्ख्यामा पर्यटकको घुइँचो लाग्न थालेको छ ।

एक दशकअघिसम्म जनैपूर्णिमामा ढोरबराह मन्दिर दर्शन गर्न आउनेबाहेक अन्य समयमा सुनसान रहने यो उपत्यका आज सामाजिक सञ्जालको प्रचारप्रसारले गर्दा रङ्गीन फूलहरूसँग रमाउनकै लागि आउनेहरूको प्रमुख गन्तव्य बनेको छ ।

असार पहिलो सातादेखि भदौसम्म ढकमक्क फुल्ने यी फूलहरू, जसलाई स्थानीयले ‘राके फूल’ र आरक्षले ‘नाकेफूली’ वा ‘बुकीफूल’ जस्ता नामले चिन्छन्, पर्यटकको क्यामेरामा कैद हुन थालेका छन् ।

पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा होमस्टे व्यवसाय पनि फस्टाएको छ । पहिले खान-बस्न सीमित सुविधा हुँदा पर्यटक कम आउने गरेकोमा अहिले दर्जनौँ होटलहरू सञ्चालनमा छन् । होटल व्यवसायी धीरेन्द्र घर्ती मगरका अनुसार, पहिले बेवास्ता गरिने यही वनफूल आज पर्यटकको मुख्य आकर्षण बनेको छ, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ ।

पर्यटकको ओइरोसँगै चुनौतीहरू पनि थपिएका छन् । ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनका अनुसार, फूलहरूको संरक्षणमा ध्यान नदिँदा र पाटनमा जथाभावी सवारीसाधन चलाउँदा फूलहरू मासिने जोखिम बढेको छ ।

उहाँले भन्नुभयो, “पछिल्ला तीन वर्षमा फूल फुल्ने क्रम घटिरहेको छ । यसको संरक्षणमा स्थानीय, सिकार आरक्ष र सरकार सबैले ध्यान दिनु जरुरी छ, नत्र भविष्यमा यो सौन्दर्य मासिन सक्छ ।”
यसका साथै, बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक जीर्ण हुँदा पर्यटकले सास्ती खेप्नुपरेको छ ।

बुटवलबाट साथीहरूसँग ढोरपाटन आइपुग्नुभएका आकाश गिरी सामाजिक सञ्जालमा देखेरै यहाँको सुन्दरता अनुभव गर्न आएको बताउनुहुन्छ । “आहा! ढोरपाटन साँच्चै स्वर्गजस्तै रहेछ,” उहाँले भन्नुभयो, “फूलहरूसँग रमाउन पाउँदा मन फुरुङ्ग भयो । तर, यहाँसम्म आउने बाटो निकै अप्ठ्यारो रहेछ । यति सुन्दर ठाउँको विकासमा ध्यान दिनु जरुरी देखिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *