रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार

काठमाडौँ, ३० असार । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै दुवै विपक्षी दलले संयुक्त रूपमा बैठक बहिष्कार गरेका हुन् ।

आजको बैठक प्रारम्भ हुनासाथ सभामुख देवराज घिमिरेले कारबाही अगाडि बढाउन खोज्दा दुवै दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सभामुखबाट समय पाएपछि बोल्दै रास्वपाका सांसद अशोक चौधरीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर राष्ट्रिय मुद्दामा संसदीय वा न्यायिक छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीको विरोध जारी रहने बताउनुभयो ।

त्यसपछि बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आफ्नो पार्टीको अडान दोहोर्‍याउँदै भन्नुभयो, “जबसम्म यो गम्भीर विषयमा छानबिन गर्न एक शक्तिशाली समिति बन्दैन, तबसम्म हामी सदनको कारबाहीमा सहभागी हुन सक्दैनौँ ।”

आफ्नो धारणा राखेपछि दुवै पार्टीका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए । उनीहरूको बहिष्कारपछि संसदको कारबाही नियमित कार्यसूची अनुसार अघि बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *