कोहलपुरमा १९ किलो अफिम र नक्कली नोटसहित जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष पक्राउ
बाँके, ३१ असार। बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम) र नक्कली नेपाली नोटसहित एक सञ्चारकर्मीलाई पक्राउ गरेको छ।
जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष तथा सञ्चालक मनबहादुर सहकारी देउवालाई प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय, कोहलपुरकी प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार, विशेष सूचनाको आधारमा कोहलपुर र सुर्खेत प्रहरीको संयुक्त टोलीले देउवालाई उनको कार्यालयबाटै पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट एक हजार दरका ५१ थान (५१ हजार रुपैयाँ बराबरको) नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद गरेको छ। पक्राउ परेका देउवामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।