राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्का तेस्रोपटक थपियो

 

म्याग्दी, २ साउन । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी) सँगको सम्झौता आगामी २०२५ नोभेम्बर २७ सम्म थपिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

यस आयोजनाको सिभिल ठेक्का सन् २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) मा रु ६ अर्बमा ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको थियो। यसअघि सन् २०२२ फेब्रुअरीमा दुईपटक म्याद थपिएकोमा गत जुन २७ मा त्यो अवधि सकिएको थियो।

ठेकेदार कम्पनीले कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई आयोजना निर्माणमा ढिलाइ हुनुको मुख्य कारणका रुपमा प्रस्तुत गरेको छ।

बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनेको थियो। यसबाहेक, सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएकोले पनि सामग्री अभाव भएको थियो।

२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ।

आयोजनाका प्रमुख राजु विष्टका अनुसार, रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ।

सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजीकरण र ताकेता गरिरहेको विष्टले बताए। कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माण सम्पन्न हुने उनले बताए।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लुप इन माध्यमबाट जोडिने छ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

यसका लागि आवश्यक चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ।