चालु आर्थिक वर्षमा दैनिक २.५ किलोमिटरभन्दा बढी सडक निर्माण भएको छ: प्रधानमन्त्री ओली

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणले उल्लेख्य गति लिएको बताउँदै दैनिक औसत २.५५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुल ९३२ किलोमिटर सडक कालोपत्रे भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। उहाँले आफ्नो सरकारको पालामा विकासले फड्को मारेको र यो गतिलाई अझ बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ। अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो गति अझ बढाउनुपर्ने छ।”

उहाँले ‘इन्जिनियर्स डे’को अवसरमा शुभकामना दिँदै देश विकासमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण रहेको समेत उल्लेख गर्नुभयो।