एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं, ५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
आगामी विधान महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यो बैठकमा पार्टीको संरचना र नेतृत्व चयन प्रक्रियामा दूरगामी असर पार्ने महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल हुँदैछ।
बैठकको मुख्य एजेन्डा ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था हटाउने प्रस्ताव हो। पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरिसकेको यो प्रस्तावलाई आज केन्द्रीय कमिटीमा प्रस्तुत गरिँदैछ। विधान मस्यौदा समितिका संयोजक, पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
बैठकको सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीति, सरकारको कार्यप्रगति र पार्टीका पछिल्ला निर्णयबारे जानकारी गराउनुभएको छ। त्यसपछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने र विधानको मस्यौदामाथि छलफल सुरु हुनेछ।
यसका साथै, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन र उनको भूमिकाबारे पनि ठोस निर्णय लिने बताइएको छ। भण्डारीको राजनीतिक सक्रियतालाई लिएर पार्टीभित्र मतभेद चर्किरहेका बेला यो बैठकले त्यसलाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
प्रस्तावित विधानमाथि धारणा राख्न चाहने केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय दिइनेछ। केन्द्रीय कमिटीबाट पारित भएपछि विधानको मस्यौदालाई थप सुझावका लागि तल्ला कमिटीहरूमा पठाइने एमालेले जनाएको छ।