बनेपामा प्रेमिकाको हत्या: शव जंगलमा फालेर इँटाभट्टामा लुकेका अभियुक्त पक्राउ
काभ्रेपलाञ्चाेक, ५ साउन। काभ्रेको बनेपामा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
रामेछापका सन्तोष सुनारले ३३ वर्षीया शर्मिला उप्रेतीको हत्या गरी शव जंगलमा फालेको र आफू इँटाभट्टामा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमलविक्रम शाहका अनुसार, चौरीदेउराली-१ स्थायी घर भई बनेपा-९ मा बस्दै आएकी शर्मिला उप्रेती असार ३२ गतेदेखि बेपत्ता थिइन्। उनी अन्तिम पटक प्रेमी सन्तोष सुनारसँगै कोठाबाट निस्किएको अनुसन्धानबाट खुलेको थियो।
शर्मिला बेपत्ता भएको पाँच दिनपछि आइतबार उनको शव बनेपा-१३ स्थित भगवान थुम्की सामुदायिक जंगलमा रुखको फेदमा फेला परेको थियो। शव भेटिएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धानलाई तीव्र पार्दै सन्तोषको खोजी सुरु गरेको थियो।
प्रहरीले खोजी गर्ने क्रममा अभियुक्त सुनारलाई सोमबार बिहान बनेपा-१० स्थित एक इँटाभट्टामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनले असार ३२ गते नै शर्मिलाको हत्या गरी शव जंगलमा फालेको स्वीकार गरेका छन्।
पक्राउ परेका सुनारलाई जिल्ला अदालत, धुलिखेलबाट ४ दिनको म्याद थप गरी हत्याको कारण र घटनाको थप विवरणबारे अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिनुभयो।