मापदण्ड विपरीतका सरकारी गाडी फिर्ता गर्न सरकारको निर्देशन
काठमाडाैं, ६ साउन । सरकारले मापदण्ड विपरीत प्रयोग भइरहेका सम्पूर्ण सरकारी सवारी साधन तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ।
मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले पहुँचवाला व्यक्तिहरूबाट हुने सरकारी गाडीको दुरुपयोग रोक्न यस्तो कडा निर्देशन दिएको हो।
बैठकले सबै मन्त्रालय, आयोग, तथा अन्य सरकारी निकायहरूलाई नियम बाहिर प्रयोग भएका गाडी फिर्ता गराउन र आफ्ना सवारी साधन तथा तिनका प्रयोगकर्ताको विवरण प्रधानमन्त्री कार्यालयमा पठाउन भनेको छ। साथै, पारदर्शिता र उचित व्यवस्थापनका लागि सबै सरकारी सवारी साधनको विवरण ‘पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम’ (P.A.M.S.) मा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिइएको छ।
राज्यका कार्यहरूमा पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्ने उद्देश्यले यी दुई कानुनी व्यवस्था गरिएको हो ।
यसका साथै, बैठकले मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै कर्मचारीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक कार्यस्थल नछाड्न, डेंगी नियन्त्रणका लागि तीनमहिने अभियान चलाउन र मधेस प्रदेशको खानेपानी समस्या समाधान गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।