एमाले केन्द्रीय कमिटी बैठकमा छलफल जारी, आजै सकिने

काठमाडौँ, ६ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दोस्रो दिन पनि जारी छ।
बैठकमा विभिन्न प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको छ र बैठक आजै सम्पन्न हुने बताइएको छ।
महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन र उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदनमाथि सदस्यहरूले छलफल गरिरहेका छन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आजको बैठकमा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यसूची छ।
हिजोको बैठकमा गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय कमिटीका ४९ जना सदस्यले बोलिसकेका छन्। बैठकमा बोल्नका लागि प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ भने सचिवालय र पोलिटब्युरो बाहेकका सदस्यहरूले मात्र आफ्ना भनाइ राखिरहेका छन्। केही सदस्यहरूले भने लिखित रूपमा पनि सुझाव बुझाएका छन्।
प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएअनुसार, सदस्यहरूले बोल्ने क्रम सकिएपछि समसामयिक प्रस्तावहरू पारित गर्दै आजै बैठक सम्पन्न हुनेछ।