सिन्धुली मन्दिर हत्याकाण्ड: मृतक भारतीय नागरिक रहेको पुष्टि, साथीहरू नै फरार

सिन्धुली, ६ साउन। सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ।

मृतक भारतको सितामडीका अन्दाजी २५/३० वर्षीय पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार, मृतकका दाइ रञ्जित भगतले सिन्धुली अस्पतालमा शवको सनाखत गर्नुभएको हो। पङ्कज साउनको पहिलो सोमबार पूजाआजाका लागि साथीहरूसँगै मधुगङ्गा महादेव मन्दिर आएका थिए।

प्रारम्भिक अनुसन्धानमा उनको छातीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको चक्कु (चुप्पी) र खुँडा (खुपा) बरामद गरेको छ।

प्रहरी उपरीक्षक सुवेदीले घटनामा संलग्न भएको आशङ्कामा मृतक पङ्कजसँगै आएका साथीहरू नै फरार रहेको बताउनुभयो। उनीहरूविरुद्ध किटानी जाहेरीसमेत परेको र खोजी कार्य तीव्र पारिएको उहाँले जानकारी दिनुभयो।

शव परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। हरेक वर्ष साउन महिनामा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरू मधुगङ्गा महादेवको दर्शनका लागि आउने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *