नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १९ अर्ब ५७ करोड
काठमाडौँ, ७ साउन । मंगलबारको उच्च वृद्धिपछि बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१७ अंकले बढेर २,९७८.८८ विन्दुमा पुगेको हाे। यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
बुधबार दिनभरमा ३१९ कम्पनीको १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको ४ करोड ४८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार २० अर्बभन्दा बढीको कारोबार भएको थियो।
सर्वाधिक कमाउनेमा ट्रेड टावर र सान्भि इनर्जीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुई कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले बढ्यो। त्यस्तै, ग्रीन भेन्चर्सको सेयरमूल्य पनि साढे ९ प्रतिशतले बढेको छ।
सर्वाधिक गुमाउनेमा भुगोल इनर्जी डेभलपमेन्टको सेयरमूल्य सबैभन्दा धेरै ५.३२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स (रु. ७८ करोड), शिवम सिमेन्ट्स (रु. ७५ करोड), र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (रु. ६२ करोड) क्रमशः शीर्ष स्थानमा रहे।
बजारमा मिश्रित प्रभाव देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटाको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ। वित्त उपसमूह सर्वाधिक ३.२३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ।