निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातले ऐतिहासिक उचाइ हासिल गरेको बताउनुभएको छ । उहाँले गत वर्षको तुलनामा निर्यातमा ८१.८० प्रतिशतको उल्लेख्य वृद्धि भएको दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस आर्थिक वर्षमा नेपालले रु. २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।

आफ्नो सरकार गठन हुनुअघिको अवधिलाई तुलना गर्दै उहाँले अघिल्लो वर्ष नेपालको कुल निर्यात रु. १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु. १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो ।”