काठमान्डु गोर्खाजको लोगो सार्वजनिक
काठमाडौँ, साउन ८ गते । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमान्डु गोर्खाजले नाम परिवर्तनका साथै बिहिबार लोगो सार्वजनिक गरेको छ । गत सिजनमा यो टिमले काठमान्डु गुर्खाजको नाममा खेलेको थियो । काठमान्डु गोर्खाजले सार्वजनिक गरेको नयाँ लोगो काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटको मिश्रणसहितको डिजाइनको छ ।
काठमाडौँ गुर्खाजले प्रमुख प्रायोजकको रुपमा वल्र्डलिङ, हस्पिटालटी पार्टनरको रुपमा होटल रोयल टुलिपसँग पनि सम्झौता गरेको छ । । टोलीका कार्यकारी निर्देशक अनुभव स्वर सिरोहिया र वलर्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सो सम्झौताअनुसार काठमाडौं गोर्खाज जर्सीको अग्रभागमा वल्र्डलिंकको लोगो रहनेछ ।
काठमान्डु गोर्खाजका सिइओ सुरज सिंह ठकुरीले प्रमुख प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई आवद्ध गरेको जानकारी दिएका छन् । प्रशक्षिक बसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवालाई भने निरन्तरता दिइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पुननिर्माण कार्य चाँडै सकिए यसपालि फल्ड लाइट्समा एनपिएल हुने बताउनुभयो । यसैगरी काठमान्डु गुर्खाजका मार्की खेलाडी करण केसीले यसपाली नयाँ प्रशिक्षक मोन्टी देसाईको प्रशिकत्वमा एनपिएल च्याम्पियन बन्ने भनाई राखे ।
गत सत्रमा पाँचौं स्थानमा रहेपछि प्लेअफ खेल्नबाट वञ्चत भएको काठमान्डु गोर्खाजले मार्की करणका साथै भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको थियो ।
काठमान्डु गोर्खाजको ट्रेनिङ पार्टनरको रूपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहेको छ ।