घरायसी विवादमा भाइले गरे दाइको हत्या

सिरहा, ९ साउन । सिरहाको गोलबजार नगरपालिकामा घरायसी विवादले उग्र रूप लिँदा भाइले आफ्नै दाइको हत्या गरेका छन्।

गोलबजार नगरपालिका–३, मुसहर्नियाँमा बिहीबार साँझ भएको घटनामा खुकुरी प्रहारबाट ३५ वर्षीय मोतीराम सदाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार २५ वर्षीय श्याम सदा र परिवारका अन्य सदस्यबीच विवाद चलिरहेको थियो। सोही झगडा छुटाउन पुगेका दाइ मोतीराममाथि नै श्यामले एक्कासि खुकुरी प्रहार गरेका थिए।

छातीमा गहिरो चोट लागेका मोतीरामलाई तत्काल उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनालगत्तै आरोपी श्याम फरार भएका छन् ।उनको खोजी कार्य प्रहरीले तीव्र पारेकाे छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *