सेयर बजारमा निराशा कायमै, नेप्से र कारोबार रकम दुवैमा गिरावट
काठमाडौँ, १२ साउन । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावटको यात्राले निरन्तरता पाएको छ। अघिल्लो दिन करिब साढे १८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक, आज थप २.०७ अंकले ओरालो लाग्दै २९६२.१३ विन्दुमा सीमित भएको छ।
यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले घट्दा फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ०.३७ र ०.३४ अंकले घटेका छन् ।
परिसूचकसँगै कारोबार रकममा पनि संकुचन आएको छ। आइतबारको तुलनामा कारोबार रकम घट्दै सोमबार कुल १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँमा सीमित रह्यो। दिनभरमा ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार कित्ता सेयर १ लाख ७० हजार ७२६ पटक खरिदबिक्री भएका थिए।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन्। समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भि इनर्जीको मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। अर्कोतर्फ, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८.४९ प्रतिशत गुमाएका छन्।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। कम्पनीको आज ९२ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसैगरी, हिमालयन डिष्टिलरीले करिब ७७ करोड र ङादी ग्रुप पावरले करिब ५८ करोडको कारोबार गर्दै शीर्ष तीनमा स्थान बनाए।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटाको सूचक राताम्मे बन्यो भने ४ वटाको सूचकले हरियाली देखायो। बढ्ने उपसमूहहरूमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशतले उकालो लाग्यो। त्यस्तै, विकास बैंक र वित्त उपसमूहको परिसूचकमा पनि करिब ३ प्रतिशतको उत्साहजनक वृद्धि देखियो।