विधान संशोधन र ‘मिसन ८४’ को लक्ष्यसहित एमालेले माग्यो सुझाव

काठमाडौँ, १३ साउन । नेकपा (एमाले) ले आगामी भदौमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानी–१२) जारी गर्दै विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटी र पार्टी सदस्यहरूलाई आग्रह गर्नुभएको हो।
अध्यक्ष ओलीद्वारा जारी निर्देशनअनुसार, प्राप्त सुझावहरूमाथि विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल गरी अन्तिम रूप दिइनेछ। ललितपुरको गोदावरीमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यी तीनवटै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पारित भइसकेका छन्।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनका प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
उक्त अपानीमार्फत अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको र यसको भविष्य उज्ज्वल रहेको बताउनुभएको छ। निर्देशनमा भनिएको छ, “अब हाम्रो यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नमा केन्द्रित हुनुपर्छ। ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नुछ।”
पार्टीले आफ्नो साङ्गठनिक अवस्थाको समीक्षा गर्दै पछिल्लो समय पार्टीका गतिविधिमा कार्यकर्ताको सहभागिता बढेको तर पार्टी कामलाई अझै आधारभूत तहसम्म पुर्याउन नसकिएको स्वीकार गरेको छ।
निर्देशनमा भनिएको छ, “पार्टी निर्माणमा नेतृत्व र कार्यकर्ताको स्वपरिचालनमा थप सुधार ल्याउनुपर्ने देखिन्छ।” पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन र ‘मिसन ८४’ को लक्ष्य पूरा गर्न साङ्गठनिक सुधार आवश्यक रहेकोमा जोड दिइएको छ।