प्रतिकिलो १२० रुपैयाँसम्ममा बिक्री, बजारमा माग धान्न व्यवसायीलाई हम्मेहम्मे

जङ्गलको निहुरोले फेरियो जीवनशैली, गाउँमा भित्र्याउँदै लाखौं रुपैयाँ

 

 

म्याग्दी, १४ साउन । म्याग्दीको उच्च पहाडी क्षेत्रका जङ्गलमा खेर गइरहेको निहुरो (स्थानीय भाषामा डौडे) अहिले स्थानीय बासिन्दाका लागि आम्दानीको दरिलो स्रोत बनेको छ । केही वर्षअघिसम्म जङ्गलमै कुहिएर जाने यो वनस्पतिले बजार पाएसँगै ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुगेको हो ।

सडक यातायातको पहुँच विस्तार भएपछि निहुरोको व्यावसायिक सङ्कलन र बिक्री सम्भव भएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजा बताउनुहुन्छ । उहाँका अनुसार बर्खेबाली लगाएर फुर्सदिला बनेका स्थानीयहरू साउन र भदौ महिनामा जङ्गलबाट निहुरो टिपेर बिक्री गरी मनग्य आम्दानी गर्छन् । “गाडीवालाले गाउँबाट यात्रुसँगै निहुरो पनि बजार पुर्‍याउँछन्,” उहाँले भन्नुभयो, “एउटै गाउँ दोवाबाट मात्रै वार्षिक २५ देखि ३० लाख रुपैयाँ बराबरको निहुरो बिक्री हुने गरेको छ ।”

स्थानीय सङ्कलक मायाकुमारी पुनका अनुसार गाउँमै प्रतिकिलो ६५ देखि ७० रुपैयाँमा निहुरो बिक्री हुन्छ । “जङ्गलमा त्यसै खेर जाने निहुरो अहिले हाम्रो घरखर्च चलाउने माध्यम बनेको छ,” उहाँले भन्नुभयो, “यसले फुर्सदको समयको सदुपयोगसँगै आर्थिक रूपमा पनि सघाउ पुर्‍याएको छ ।”

दोवा, दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदी जस्ता गाउँबाट दैनिक करिब ५०० किलोग्राम निहुरो बेनी बजारमा आइपुग्ने व्यापारीहरू बताउँछन् । बेनीका तरकारी व्यवसायी देवेन्द्र सुवेदीका अनुसार यहाँबाट निहुरो बागलुङ, कुश्मा र काठमाडौँसम्म पुग्ने गरेको छ । “बेनी बजारमा आइपुग्दा निहुरोको मूल्य प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्म पर्छ,” सुवेदीले भन्नुभयो, “गत वर्षको तुलनामा यो वर्ष उत्पादन घटेकाले बजारको उच्च माग धान्न सकिएको छैन ।”

पोषिलो र औषधीय गुणले भरिपूर्ण

समुद्री सतहदेखि १,५०० देखि २,५०० मिटर उचाइको ओसिलो भूभागमा प्राकृतिक रूपमा उम्रने निहुरो एक जैविक तरकारी हो । यसको कलिलो मुनालाई तरकारी र अचारको रूपमा प्रयोग गरिन्छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनका अनुसार यो पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले पर्यटक तथा स्थानीय पाहुनाहरूले निकै रुचाउने गरेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार निहुरोमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र आइरनजस्ता तत्वहरू पर्याप्त मात्रामा पाइन्छन् । यसको नियमित सेवनले आँखाको दृष्टि, मुटु तथा मधुमेहका रोगीहरूलाई फाइदा पुग्ने बताइन्छ । साथै, क्यान्सर, भाइरल खोकी र फोक्सोसम्बन्धी समस्यामा समेत यो लाभदायक मानिन्छ ।