श्रीमतीको हत्यापछि आत्महत्या गर्न खोज्ने श्रीमान् प्रहरी नियन्त्रणमा
हेटौँडा, १७ साउन । मकवानपुरगढी गाउँपालिका–५ मा एक श्रीमानले आफ्नी बिरामी श्रीमतीको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् ।
४५ वर्षीय मानबहादुर शिवभक्तिले पक्षघातले ग्रसित आफ्नी ४० वर्षीया श्रीमती दुर्गालक्ष्मीको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार, श्रीमतीको अवस्थाका कारण आफू चरम तनावमा रहेको र सोही कारण हत्या जस्तो कठोर कदम चालेको मानबहादुरले स्वीकार गरेका छन् । उनले श्रीमतीको हत्यापछि डोरीको पासो लगाई आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि असफल भएको र त्यसपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएका छन् ।
घटनाबारे थप अनुसन्धान गर्न र शव परीक्षणका लागि मृतकलाई हेटौँडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
