साउने सोमबारको तेस्रो हप्ता पशुपतिदेखि देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ, १९ साउन। आज साउन महिनाको तेस्रो सोमबार, भगवान् शिवको विशेष पूजाआराधना गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

साउन महिना र सोमबारलाई शिवको प्रिय दिन मानिने हुँदा मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने विश्वासका साथ भक्तजनहरू पूजाआजामा जुटेका छन्।

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारैवटा ढोका खोलिएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार, भक्तजनको सहज प्रवेशका लागि गौरीघाट, मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान गरी चारतर्फबाट लामको व्यवस्था मिलाइएको छ। रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनहरूको बाक्लो उपस्थितिमा पशुपति क्षेत्र भरिभराउ देखिएको छ।

कोषले भक्तजनको सुविधाका लागि चक्रपथमा चारवटा निःशुल्क बस सञ्चालन गर्नुका साथै अतिरिक्त जुत्ता-चप्पल कक्ष र सुरक्षा व्यवस्थालाई कडा पारेको छ। यसैगरी, सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गर्ने बोल बमका अनुयायीहरूको पनि उत्तिकै भीड छ। पहेँलो वस्त्रमा सजिएका ‘काँवरिया’हरू खाली खुट्टा “बोल बम” को नारा लगाउँदै पशुपतिनाथ मन्दिरतर्फ आइरहेका छन्। उनीहरूले बाटोमा पर्ने गोकर्णेश्वर महादेव मन्दिरमा पनि जल चढाएका छन्। पशुपतिमा रहेको ‘श्रीयन्त्र’ र गोकर्णेश्वरको ‘बालयन्त्र’ को दर्शनसँगै गर्नुपर्ने मान्यताले पनि यी दुवै मन्दिरमा भक्तजनको चाप बढेको हो।

धार्मिक विश्वासअनुसार, विवाहित महिलाहरूले श्रीमानको दीर्घायु तथा अविवाहितहरूले सुयोग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने गर्छन्। धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार, परिवारमा सुख, शान्ति र समृद्धिका लागि सबैले शिवको उपासना गर्नु उत्तम मानिन्छ।
काठमाडौँको पेप्सीकोलास्थित नागेश्वर महादेव, वसन्तपुरको मक्खन महादेव लगायत अन्य शिवालयहरूमा पनि बिहानैदेखि पूजा गर्नेहरूको लाम लागेको छ।