भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसङ्घीय सम्मेलन सुरु, प्रधानमन्त्री ओलीले आजै सम्बोधन गर्ने
तुर्कमेनिस्तान, २० साउन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ ।
आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटनस्थल आवाजास्थित स्पोर्टस कम्प्लेक्समा स्वागत गर्नुभएको थियो ।
उद्घाटनसत्रमा सम्बोधन गर्दै महासचिव गुटेरेसले भूपरिवेष्टित मुलुकहरुले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बजारसम्मको पहुँच बढाउन र भोगिरहेका समस्या समाधान गर्नका लागि आवश्यक सहयोग एवं समन्वयसहित साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभले दक्षिण–दक्षिणको सहकार्यका साथै संसदीय मञ्च, युवा र नागरिक सञ्जालको सक्रियताबाट भूपरिवेष्टित विकासशील राष्ट्रहरूले भोगिरहेका आर्थिक र सामाजिक समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । यसैगरी संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन युन्जीले पनि उद्घाटनसत्रलाई सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनको ‘प्लेनरी’सत्र आवाजास्थित पर्यटकीय भवनमा सुरुभएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुहुने छ । उहाँले अल्पविकसित मुलुक (एलडिसी) समूहका तर्फबाट समेत सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
यसैगरी, सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्नुहुने छ ।
समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण विशेषगरी भूपरिवेष्टित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, ‘कनेक्टिभिटी’ र आर्थिक विकासमा कठिनाइ झेलिरहेको अवस्थामा तुर्कमेनिस्तानमा भइरहेको सो समूहको तेस्रो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।