तुर्कमेनिस्तानबाट प्रधानमन्त्रीको आह्वान: भूपरिवेष्टित राष्ट्रका लागि ‘कनेक्टिभिटी नै न्याय हो’

काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू विश्वबाट स्वेच्छाले नभई भौगोलिक बाध्यताले अलग रहेको बताउँदै उनीहरूका लागि ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) नै न्याय भएको बताउनुभएको छ।

भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनका लागि तुर्कमेनिस्तानमा रहनुभएका प्रधानमन्त्री ओलीले सम्मेलनको एक सत्रलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार, प्रधानमन्त्री ओलीले भूपरिवेष्टित हुनुको पीडालाई शक्तिमा बदल्नुपर्नेमा जोड दिनुभएको थियो।

उहाँले तटीय राष्ट्रहरूतर्फ संकेत गर्दै भन्नुभयो, “तटीय राष्ट्रहरूसँग (पहुँचको) साँचो छ— त्यो खोल्नु उनीहरूको कर्तव्य हो, अनुग्रह होइन।”

प्रधानमन्त्री ओलीले भौगोलिक अवरोधलाई नवप्रवर्तन र साझा समृद्धिको इन्जिनको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै भूपरिवेष्टित राष्ट्रहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो।