भारतबाट नक्कली नोट ल्याउँदै गरेका दुई युवा सुनसरीमा पक्राउ

धरान, २१ साउन । सुनसरी प्रहरीले भारतबाट नेपालतर्फ नक्कली नेपाली नोट भित्र्याउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ।

कोशी गाउँपालिका–८ को भीमनगरस्थित सीमा क्षेत्रबाट उनीहरूलाई ३८ हजार नक्कली रुपैयाँसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।

इलाका प्रहरी कार्यालय, भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले गए राति भारतबाट नेपाल आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट प्रहरीले एक हजार दरका ३८ थान नक्कली नोट बरामद गरेको थियो।

पक्राउ परेका दुवै जनालाई बरामद नक्कली नोट र उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।