संसदीय समितिमा आज महत्त्वपूर्ण विधेयक र निर्देशन कार्यान्वयनमा केन्द्रित

काठमाडौँ, २२ साउन । आज सङ्घीय संसद्का तीनवटा समितिले आज महत्त्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाएका छन्।

कृषि, शिक्षा र महिला मामिलासँग सम्बन्धित समितिहरूले विधेयक, उपसमितिको प्रतिवेदन र पुराना निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने कार्यसूची रहेको छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे एकै समयमा सुरु हुनेछ। कृषि समितिले ‘भूमि सम्बन्धी ऐन संशोधन विधेयक’ माथि दफावार छलफल गर्नेछ भने महिला समितिले आफूले दिएका निर्देशनहरू कति कार्यान्वयन भए भन्ने विषयमा केन्द्रित रहनेछ।

त्यस्तै, दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई अन्तिम रूप दिन गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। यो विधेयक लामो समयदेखि चर्चामा रहँदै आएको छ।