बौद्धमा युवकमाथि खुकुरी प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौँ, २२ साउन । काठमाडौंको बौद्धमा एक युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाका २० वर्षीय आशिष राई र मोरङका १८ वर्षीय संस्कार मगर रहेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार, उनीहरूले यही साउन १८ गते राति गोकर्णेश्वर–६ नारायणटारमा मकवानपुरका २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार गरेका थिए।

घटनापछि फरार रहेका राई र मगरलाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले खोजतलास गरी पक्राउ गरेको हो।

खुकुरी प्रहारबाट घाइते भएका थोकरको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम र बोल्न सक्ने रहेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *