साताको अन्तिम दिन सेयर बजारमा सुधार, नेप्से १८ अंकले बढ्दा ८ अर्ब ५३ करोडको कारोबार

काठमाडौं, २२ साउन । लगातार दुई दिनको गिरावटपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। आज ३१८ कम्पनीको ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

बिहीबारको कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशतले बढेको छ। त्यसैगरी, बरुण हाइड्रोपावर र मकर जितुमाय सुरी हाइड्रोपावरको शेयरमूल्यमा पनि उल्लेख्य वृद्धि देखियो। अर्कोतर्फ, उन्नति सहकार्य लघुवित्तको शेयरमूल्यमा भने सर्वाधिक ८.२६ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमको आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि शिवम् सिमेन्ट्स र हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक हरियो भएको छ, जसमा वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३८ प्रतिशतले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *