होटलमा काम लगाइदिने प्रलोभनमा भारत पुर्‍याएर मिर्गौला बेच्ने गिरोह पक्राउ

 

काठमाडौँ, २२ साउन  ।  मानव बेचबिखन अनुसन्धान ब्यूरोले युवतीलाई भारतको होटलमा काम लगाइदिने प्रलोभनमा पारेर मिर्गौला बेच्ने एक गिरोहका तीन सदस्यलाई नियन्त्रणमा लिएको छ। यो गिरोहले एक युवतीलाई जेठ महिनामा भारत पुर्‍याई उनको मिर्गौला निकालेको थियो।

ब्यूरोले दिएको जानकारी अनुसार, गत जेठ महिनामा ‘परिवर्तित नाम २६ बबरमहल (४५४)’ लाई कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी हुँदै भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याइएको थियो। अभियुक्तहरूले युवतीलाई भारतको होटलमा मासिक १० देखि २० हजारसम्म आम्दानी हुने काम पाइने प्रलोभन दिएका थिए।

नियन्त्रणमा लिइएकाहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं.१० का ३५ वर्षीय राजकुमार परियार (कुमार), नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी नगरपालिका वडा नं.-४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन्।

चण्डीगढ पुगेको भोलिपल्टै युवतीलाई एक क्लिनिकमा लगी मेडिकल चेकअप गराइयो। समीर र राकेश नामक अभियुक्तले युवतीलाई करिब एक महिनासम्म आफ्नो निगरानीमा राखेका थिए। पछि उनीहरूले युवतीलाई मिर्गौला निकालेबापत ६ लाख रुपैयाँ दिने प्रस्ताव राखे। युवतीले उक्त प्रस्ताव अस्वीकार गरेपछि उनलाई अहिलेसम्म लागेको खर्च तिर्नुपर्ने भन्दै मानसिक दबाव दिइयो। अन्ततः, गत साउन ९ गते उनको बायाँ मिर्गौला निकालिएको थियो। मिर्गौला निकालिएपछि युवतीसहित अभियुक्तहरू साउन १५ गते काठमाडौँ फर्किएका थिए।

पीडित युवतीले दिएको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा अभियुक्तहरूलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिए।

एसपी चन्दका अनुसार, यो गिरोहले नेपाल र भारतमा बसेर मिर्गौलाको अवैध कारोबार गर्दै आएको थियो। उनीहरूले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई विभिन्न किसिमका प्रलोभन देखाएर चिनजान गर्ने, त्यसपछि उनीहरूको ओसारपसार गर्ने, मेडिकल चेकजाँच गराउने र भारतमा बसेर मिर्गौला निकाल्नेसम्मका सबै प्रबन्ध मिलाउने काम गर्थे।